पेट्रोलियम पदार्थको अभाव भएको अवस्थामा महेन्द्रनगरमा पेट्रोल प्रतिलिटर २ सय ४० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । निकटवर्ति भारतीय बजारबाट ल...
पेट्रोलियम पदार्थको अभाव भएको अवस्थामा महेन्द्रनगरमा पेट्रोल प्रतिलिटर २ सय ४० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । निकटवर्ति भारतीय बजारबाट ल्याइएको पेट्रोल चर्काे मूल्यमा बिक्री भइरहेको हो ।
विगत १ हप्ताभन्दा बढी समयदेखि महेन्द्रनगरमा पेट्रोलियम पदार्थको अभाव भएको हो । पेट्रोलको अभाव सुरु भएका सुरुआती दिनहरुमा १ सय ८० रुपैयाँदेखि २ सय रुपैयाँसम्ममा बिक्री भएको पेट्रोलको मूल्य महेन्द्रनगर बजारमा २ सय ४० रुपैयाँसम्म पुगेको छ । महेन्द्रनगरमा रहेका खुद्रा पसल, मोटरसाइकल मर्मत सेन्टर, अटो पार्टस् लगायतमा निर्वाध रुपमा चर्काे मूल्यमा पेट्रोल बिक्री भइरहेको छ ।
पछिल्लो पटक नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर १ सय ३० रुपैयाँ ३४ पैसामा बिक्री गर्ने गरेको थियो । अभाव सिर्जना भएपछि उपभोक्ताले १ सय १० रुपैयाँ बढी तिरेर पेट्रोल खरिद गर्नुपरिरहेको छ ।
महेन्द्रनगरबाट निकटवर्ति भारतीय बजार वनवसा, खटिमा र टनकपुरबाट पेट्रोल आयात हुने गरेको छ । भारतीय बजारमा गएर मोटरसाइकलको ट्याङ्कीभरि पेट्रोल ल्याएर महेन्द्रनगरमा बिक्री हुने गरेको छ ।
‘२ सय ४० रुपैया तिरेर मोटरसाइकलमा १ लिटर पेट्रोल हाले,’ सुडाका चन्द्रकान्त भट्टले भने, ‘अत्यावश्यक कामले मोटरसाइकल प्रयोग गर्ने पर्ने भयो । टाढाटाढासम्म पैदलयात्रा यात्रा गर्न सकिँदैन । पेट्रोलको सहज आपूर्ति नभएपछि चर्काे मूल्य पनि तिर्नै प¥यो ।’ सीमावर्ति भारतीय बजारबाट प्रतिलिटर १ सय २० रुपैयाँमा खरिद गरेर ल्याइएको पेट्रोल महेन्द्रनगरमा २ सय ४० रुपैयाँमा बिक्री भइरहेको हो ।
भारतीय पेट्राल पम्पले पहुँचका आधारमा मात्रै पेट्रोल दिने गरेका छन् । ‘आमनेपालीले भारतीय पेट्रोल पम्पमा गएर व्यक्तिगत प्रयोगका लागि पेट्रोल खरिद गर्न खोज्दा ५० रुपैयाँसम्मको मात्रै दिने गरेको छ,’ मोटरसाइकल प्रयोगकर्ता मुकेश जोशीले भने, ‘५० रुपैयाँको पेट्रोल त महेन्द्रनगर–वनवसा आउन जानै ठिक्क हुन्छ ।’
तर, पेट्रोलमा कालोबजारी गरिरहेका र चर्काे मूल्यमा बिक्री गरिरहेकाहरुको भारतीय पेट्रोल पम्पमा समेत सम्बन्ध हुने भएकाले उनीहरुले मागे अनुसार पेट्रोल पाउन सक्ने जोशीले बताए । उनका अनुसार आमनेपालीलाई पेट्रोल नदिएर भारतीय पेट्रोल पम्पका कर्मचारीले समेत महेन्द्रनगरमा पेट्रोलको मूल्य चर्काउन सघाइरहेका छन् ।
विवाहका लगन बढी परेकाले यसपालि पेट्रोलको माग बढ्दा मूल्य चर्किएको भीनपा–१८ महेन्द्रनगरका मनोज जोशीले बताए । उनका अनुसार विवाहमा हलुका सामान ओसार गर्न र आवतजावत गर्न मोटरसाइकल अनिवार्य जस्तै भइसकेको छ । ‘पेट्रोल अभाव भएपनि विवाहको काम र सहभागी हुनै प¥यो,’ जोशीले भने, ‘त्यसका लागि बढी नै मूल्य तिरेर भएपनि पेट्रोल किन्नै प¥यो ।’ सरकारले पेट्रोलको सहज आपूर्ति नगर्दा सबैतिर समस्या सिर्जना भएको जोशीले बताए ।
उनका अनुसार मोटसाइकल धनीहरुले सामान्य मूल्यभन्दा दोब्बर बढी मूल्य तिरेर पेट्रोल खरिद गरिरहेका छन् । कञ्चनपुरको महेन्द्रनगर मात्रै होइन, कैलालीको धनगढीमा समेत पेट्रोल २ सय रुपैयाँ प्रतिलिटरमा बिक्री भइरहेको छ । भारतको निकटवर्ति भारतीय बजार गौरीफन्टा र पलियाबाट पेट्रोल ल्याएर धनगढीमा ब्यापारीहरुले चर्काे मूल्यमा बिक्री गरिरहेका छन् । सुदूरपश्चिमी जिल्लाका जिल्ला सदरमुकामसहित विभिन्न स्थानीय बजारमा समेत पेट्रोलको कारोवार चर्काे मूल्यमा भइरहेको छ ।
सुदूरपश्चिममा दैनिक २० हजार लिटरजति पेट्रोल खपत हुने गरेको नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीले जनाएको छ । निगमले पेट्रोलको सहज आपूर्ति गर्न नसकेपछि सुदूरपश्चिमका बजारमा पेट्रोलको कालोबजारी भइरहेको छ । ‘बैशाख १ गतेदेखि क्षेत्रीय कार्यालयसँग पेट्रोल छैन,’ क्षेत्रीय प्रमुख शरदप्रसाद पौडेलले भने, ‘पेट्रोल चोरीबाटो हुँदै भारतबाट ल्याएर बजारमा बिक्री भइरहेको छ ।’ निगमले एउटा पेट्रोल पम्पलाई १ पटकमा कम्तीमा ३ हजार लिटर र बढीमा २० हजार लिटरसम्म पेट्रोल उपलब्ध गराउने गरेको छ । तर, त्यो पेट्रोल बिक्रीबारे भने निगमले अनुगमन गर्ने गरेको छैन ।
पेट्रोल पम्प सञ्चालकहरुले खुद्रा पसलबाट पेट्रोल बेचाएर कालोबजारी गरिरहेको उपभोक्ताको आरोप छ । तर, त्यो आरोपलाई नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीले अस्वीकार गरेको छ । ‘धेरै स्टक राख्ने गरी पेट्रोल दिइएकै छैन । थोरैथोरै गरेको थाहा भएन,’ क्षेत्रीय प्रमुख पौडेलले भने ।
क्षेत्रीय कार्यालयसँग भएका कर्मचारीहरुले कार्यालयमै व्यस्त हुने भएकाले कालोबजारी र पेट्रोल पम्पसँग रहने गरेको स्टक पेट्रोलबारे अनुगमन गर्न नसकिएको क्षेत्रीय प्रमुख पौडेलले बताए । उनका अनुसार पेट्रोल पम्पमा अनुगमन गर्न उपभोक्ता, प्रशासन, प्रहरी र नियमले संयुक्त रुपमा गर्नुपर्छ । ‘अनुगमन भएको छैन । अनुगमन गर्न प्रहरी, प्रशासन र उपभोक्ता सक्रिय हुनुपर्छ,’ क्षेत्रीय प्रमुख पौडेलले भने ।