विक्रम संवत् २०६९ अनेकौं असफलताका बाबजुद पनि नेपाली जनतालाई भविष्यका लागि केही आशा देखाएर बिदा भएको छ भने ६० को दशकलाई बाईबाई गर्दै ७० को...
विक्रम संवत् २०६९ अनेकौं असफलताका बाबजुद पनि नेपाली जनतालाई भविष्यका लागि केही आशा देखाएर बिदा भएको छ भने ६० को दशकलाई बाईबाई गर्दै ७० को दशक पनि सुरु भएको छ । समय गतिशील छ, अरु सबै कुरा रोकिए पनि ऊ कहिल्यै रोकिँदैन । दुई वटा कारणले अब आउने दिन विशेष हुनेछ नेपालका लागि र नेपालीका लागि ।
कुनै व्यक्तिको जीवनमा हो भने एक वर्ष होइन एक महिना र एक हप्ताले पनि विशेष अर्थ राख्छ । देशका लागि भने एक वर्षका घटनाले खासै महत्व राख्दैन । तर जनताका अपेक्षा कति पुरा भए वा भएनन् भन्ने कुराले चाँही महत्व राख्छ । २०६९ साल सुरु हुँदा यसै वर्ष नयाँ संविधान पाउने आशा गरेका जनताको अपेक्षा पुरा भएन । आ–आफ्नो स्वार्थ पुरा गर्नका लागि दल र नेताहरुले गरेको दन्त बजानका कारण जनताको आशा निराशामा परिणत भयो । २०६९ सालमा समाजशास्त्री, अपराधशास्त्री र सुरक्षा अधिकारीको सोच एवं बिश्लेषणमा समेत नसमेटिने खालका थुप्रै अकल्पनीय आपराधिक घटनाहरु भए । सामाजिक चेतनाको स्तर बढेको दाबी गरिएपनि वर्ष भरी नै हत्या, बलात्कार, घरेलु हिंसा, यौन दूर्व्यवहार र बोक्सीको नाउँमा अमानवीय यातनाजस्ता घटनाहरुको श्रृंखला जारी रह्यो ।
सडकदेखि बालुवाटार र प्रेससम्म यौन हिंसा विरुद्ध स्वरहरु गुन्जिराख्यौं । स्थानीय समाजमा ‘ मिस्टर क्लीन’ का छवि बनाएर बसेका नेपाल प्रहरीका एसएसपी रविराज श्रेष्ठले अबैध मुद्रा कारोबारमा संलग्न भएर जागिर गुमाउनु पर्यो । सरकारी, गैर सरकारी संस्था र सञ्चारमाध्यमले लेखाजोखा गर्नै नसक्ने गरी साना ठूला हरेक खालका अपराधहरु वर्षको अन्त्यसम्म जारी रह्यो ।